भदौ ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९३ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका तनहुँका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा शेषमणि आचार्यका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सचिव नवराज रिजालले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, महासचिव अशोक राई, अग्रज स्रष्टा नर्मदेश्वरी सत्याल, नमुना शर्मा, महेशराज खरेल, राष्ट्रिय जनसङ्गीत सङ्घका अध्यक्ष बैकुण्ठ महतलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै वि.सं.२००६ चैत्र ४ गते लमजुङ जिल्लाको सिलिङ डाँडा रम्घामा माता मधुमालती आचार्य र पिता हरिदत्त आचार्यका सुपुत्रका रूपमा जन्मिएका शेषमणि आचार्यले दर्शनशास्त्रमा आचार्य गर्नुका साथै विद्यार्थी कालदेखि नै माक्र्सवादी प्रगतिवादी विचार बोकेर २०२१÷२२ सालतिरै गण्डकी विद्यार्थी परिषद्को मुखपत्र ‘लालुपाते’मा ‘साथी’ शीर्षकको कविता प्रकाशनका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरी निरङ्कुश पञ्चायती शासन व्यवस्थामा भूमिगतरूपमा स्थापित ‘हाम्रो पुस्तकालय’को सदस्यको रूपमा, भूमिगत समयमा विभिन्न उपनामबाट साहित्य सिर्जना गर्दै र बुर्जुवा शिक्षा बहिष्कार अभियानमा समेत सामेल हुँदै वि.सं.२०२५ सालमा जन्मस्थानमा ‘जनचेतना पुस्तकालय’को स्थापना गरेर विचार प्रवाह गरेको पाइन्छ । ‘कर्णधार’ पत्रिकाको संस्थापकका रूपमा, शुक्ला साहित्य संस्था तनहुँको संस्थापकका रूपमा क्रियाशील हुँदै हुँदै हाल गण्डकी लघुकथा समाजको उपाध्यक्षका रूपमा पनि क्रियाशील हुनुहुन्छ । ‘समाजवादबारे केही कुरा’, ‘केही पारिभाषिक शब्दलेखन’, ‘माक्र्सवादपूर्वको दार्शनिक विकास’, ‘हाम्रो यात्राको सिंहावलोकन’, ‘मलाई एउटा बाँसुरी देऊ’, ‘हामी कविताशृङ्खला’, ‘पिताको पत्र पुत्रलाई’, ‘डाली’ (नेपालबाट प्रकाशित पहिलो रम्बास कवितासङ्ग्रह, विश्वको दोस्रो)जस्ता कृति उहाँका प्रकाशित छन् भने केही प्रकाशोन्मुख अवस्थामा रहेका छन् । साहित्यमा सामाजिक यथार्थवादी मान्यताका पक्षधर रहनुभएका उहाँ प्रगतिशील साहित्यलेखनमा नयाँ प्रयोगहरूका अनुयायी पनि हुनुहुन्छ र नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाउने उहाँ नयाँ शिल्प र कलाले युक्त साहित्य सिर्जना गर्नुपर्ने मान्यतासमेत राख्नुहुन्छ । निरन्तरको उहाँको योगदानका लागि थुप्रै पुरस्कार तथा मानसम्मान प्राप्त गर्नुभएको छ । नेपाली समाजलाई नजिकबाट नियाल्ने, त्यसको जीवन्त चित्रण गर्ने र रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने आचार्यलाई आजको यो विशेष समारोहमा प्रस्तुत गरिएकोे हो भन्ने धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९३ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानमा सक्रियता देखाइरहेका साहित्यको ऊर्वर भूमि तनहँुका अग्रज स्रष्टा शोषमणि आचार्यलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने यिनै कुशल स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक शेषमणि आचार्यले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर जीवनपर्यन्त क्रियाशील भइरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने पहिलो अवसरका रूपमा आफ्ना एक दर्जन कविता सुनाउने सुअवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । यो अत्यन्त महत्त्वपूर्ण, सबैभन्दा महत्त्वपूर्ण एकल कवितावाचनको अवसर आज मैले प्राप्त गरेको अनुभूत पनि गरेको छु । संसारमा साम्यवाद कमजोर भएको भनेर सोभियत सङ्घ टुक्रिएको र भारतको पश्चिम बङ्गालमा लामो समयदेखि कम्युनिस्टहरूले गरेको शासन पनि समाप्त भएको समयमा पश्चिमाहरूले प्रचार गरेको समयमा भारतीय कविले लेखेको एउटा कवितालाई आपूmले अनुवाद गरेको, वर्गीय विभेद मौलाएको र आत्मसम्मानमा ठेस पुर्याइएका गतिविधिले लेख्न प्रेरित गरेका, साहित्य जनताका लागि लेखिनुपर्छ भन्ने आफ्नै मान्यताले कवितालेखनमा घच्घच्याएको, पृथ्वीको भूस्वर्ग देशका हामी सुनको कचौरा लिएर मागिरहेको अवस्थाले चिमोटेर कविता लेखेको जानकारीसहित ‘गिर्दैन ऊ गरुङ्गो छ(लेनिनको सालिक ढालिएको विरुद्धको, अनुवाद)’, ‘घरहरू छन्’ ‘परिवर्तन’, ‘इन्क्लाब’, ‘हामी’, ‘भिखारी !’, ‘हामी घोडा’, ‘अटलबहादुर’ र ‘हामी पुष्पक विमानका ..’ शीर्षकका अत्यन्त उत्कृट, सशक्त एवम् सुन्दर वैचारिक नौओटा गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू देवेन्द्र तिम्लाले ‘ऊ अहिले कार्लमाक्र्ससँग तर्सन्छ’ शीर्षकको गद्यकविता, ज्ञानु विद्रोहीले हामी कवितासङ्ग्रहको ‘सपनामा रमायौँ’ शीर्षकको र नमुना शर्माले अनुष्टुप छन्दको ‘मेरो नायक’ शीर्षकको कविता गरी तीनओटा त्यस्तै सुन्दर, शालीन तर सशक्त वैचारिक कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक प्रा.डा.कृष्णप्रसाद दाहालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९३ औँ शृङ्खलामा पुगेको रहेछ । यो अभियानमा उपस्थित भएर आज कुशल एवम् अग्रज स्रष्टा शोषमणि आचार्यका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । गहन दर्शन र चिन्तनलाई कविले काव्यमा वाणी प्रदान गरेको हुन्छ । कविको शाश्वत चिन्तन कवितामा उतारिएको हुन्छ । साँचो अर्थमा कविले निर्वाह गर्ने कवित्व कवितामै बाँच्नुपर्छ । कवितामा काव्यात्मकता, लालित्य, विम्ब, प्रतीक र अलङ्कार चाहिन्छ सोझो पत्रिकाको सम्पादकीयजस्तो भाषा कविता हुनसक्तैन । कवि आपूmले आफ्ना कवितालाई कत्तिको न्याय गरेको छ भन्ने कुराका आधारमा पाठक वा भावकले कविको मूल्याङ्कन गर्ने गर्दछ । मातृत्व भए मात्र आमा भएजस्तै कवित्व भयो भने मात्र कवि हुन्छ । राम्रा स्रष्टा ओझेलमा पर्ने वा भनौँ विचार वा चेतना सम्प्रेषण गर्ने स्रष्टा ओझेलमा पर्ने नियति हामीले वर्तमानमा पनि भोगिरहेका छौँ । युवा गाउँबाट रित्तिँदै छन् र सहरबाट पनि रित्तिने क्रममा छन्, बेरोजगारी बढेको छ तर निकास दिने सोच, चिन्ता र प्रयत्न नभएको वर्तमान हामी भोगिरहेका छौँ । कवि आचार्य यिनै समाजमा समग्र विसङ्गतिका विषयलाई विषयवस्तु बनाएर विम्ब, प्रतीक र अलङ्कारमा बोलिरहेका छन् । अर्थात् कवितामा कविको चिन्तनको ज्वालामुखी अभिव्यक्त भएको छ । सबै कवितामा यथास्थितिवादको विरोध गर्दै हामी हाम्रो स्वत्व र स्वाधीनता गुमाउँदै गइरहेका छौँ भन्ने चिन्ताभावसमेत सम्प्रेषण गरिएको छ । कविताले उठान गरेको विषयवस्तु र प्रस्तुति नै सशक्त र बेजोड छ । हरेक कविता चिन्तनमननका उपजजस्ता लाग्छन् । ‘विचार मारेर मर्दैन, सालिक ढालेर पनि विचार मर्दैन’ भन्ने शाश्वत सूक्तिमय सन्देश कविताले दिएका छन् । विचारमा स्खलित भएका र भइरहेकाहरू वर्गीय असमानता खडा गरिरहेका छन् भन्ने यथार्थलाई उजागर गरिएका सरल विषयवस्तुलाई गहन विश्लेषण गरिएका उत्कृष्ट विचारसहितका कविता सुनिएको धारणा राख्नुभयो ।
प्रमुख अतिथि प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो त्रियानब्बेऔँ शृङ्खलामा आज सक्रिय, सशक्त एवम् अविश्रान्त प्रगतिवादी अग्रज कवि शेषमणि आचार्यलाई सुनियो । तिखो सोच र दरिलो विचारका कविता हामीले सुन्यौँ । तनहुँ यसै पनि कविताको ऊर्वर भूमि हो, उपत्यकाबाट नजिकै रहेको पहाड भए पनि सङ्घर्षपूर्ण जीवन चनाउन सहजै भएको ठाउँ पनि हो । आज सुनिएका कवि शेषमणि आचार्य चाहिँ वर्गीय चेतनाका सशक्त र अब्बल कवि लागेको छ मलाई । वर्तमानमा सांस्कृतिक पर्वका नाममा विकृति भित्रिएका, आडम्बर प्रदर्शन भइरहेको, तडकभडक देखिएको हुँदा समय र स्रोतले धान्ने मात्र गरी चाडबाड मनाउने संस्कृति विकासका पक्षमा पनि स्रष्टाले कलम चलाउनु आवश्यक रहेको छ । हामी पुँजीवादद्वारा गाँजिँदै गइरहेका छौँ त्यसैले महिलाले व्रत गरिदिएका भरमा पुरुषको आयु बढ्छ भन्ने भ्रमबाट कम्तीमा पनि मुक्त हुनुपर्छ भन्ने चेतना सम्प्रेषण पनि स्रष्टाको दायित्व हो । आज हामीले सुनेका शेषमणि आचार्यका कविताले यो चेतना फैलाउने भरमग्दुर प्रयत्न गरेका छन् । महासङ्घका सातओटा घटक सङ्गठनमध्ये राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालले मासिकरूपमा अविच्छिन्न यो कार्यक्रम गरिरहेको पक्ष पनि सराहनीय रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा शेषमणि आचार्यलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने; शालीन व्यङ्य एवम् विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने, सुन्दर ग्रामीण विम्बलाई प्रयोग गरेर दार्शनिक कविता लेख्ने, विचार र व्यवहारमा तालमेल नगर्ने ढोँगी राजनीति र नेतृत्वलाई कठोर प्रहार गर्ने, आदर्श मानेका नेतृत्व विचारमा स्खलित भएकाले आफैँ होचा भएका यथार्थको प्रस्तुति गर्ने, समाजमा विद्यमान अन्धविश्वासमा शालीन प्रहार गर्ने; तुच्छ, काँतर र स्वार्थी व्यक्तिले नेतृत्व गर्ननसक्ने घोषणा गर्ने, नदीका दुई किनारमध्ये हामी जनताको किनारमा छौँ भन्ने घोषणा गर्ने, तौलिएर कवितामा शब्दप्रयोग गर्ने र वर्गीयताको पक्षपोषण गर्ने, नेतृत्वसँग खुला आँखा नभएकाले सङ्कीर्णता मौलाएको मात्र होइन रूपान्तरण अभियानले बाटो बिराएको प्रस्ट धारणा राख्ने आचार्य स्पष्ट आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने शिल्पी हुन् । यिनै अत्यन्त कुशल स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी असोज महिनामा ९४ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका स्रष्टा प्रभाती किरणलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
Leave a Reply