२०८२ वैशाख ६ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६२ औँ शृङ्खलामा ‘मुलुकमा देखिएको अराजकता र त्यसको समाधान’ विषयमा परिचर्चा गरियो र शुभकामना कविगोष्ठी गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.केशव सुवेदी उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला र महासचिव नन्दु उप्रेती, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका महासचिव डा.कृष्ण सुवेदी, डा.रूपनारायण श्रेष्ठ, डम्बर पहाडी, महेशराज खरेल, रेणुका भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
‘मुलुकमा देखिएको अराजकता र त्यसको समाधान’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.केशव सुवेदीले अराजकता भनेको शासनव्यवस्था नमिलेको अवस्था, अनुशासनहीनता, छाडापन, सत्ताराजनीतिको अव्यवस्था; सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थामा नकारात्मक प्रभाव पार्ने गतिविधि आदि भन्ने बुझिन्छ । राजनीतिशास्त्रीका लागि उपयुक्त रहेको आजको विषयमा साहित्य, संस्कृति तथा दर्शनको विद्यार्थी आपूm उभिएको र आजको विषयका सन्दर्भमा पूर्वीय मान्यता अर्थात् पूर्वीय ज्ञानपरम्पराको अनुसरण गर्न नसकिएको अवस्था आज हामी भोगिरहेका छौँ । पूर्वीय विद्वानहरू अरिस्टोटल, शुक्राचार्य, मनु, चाणक्य, विदुर, महाभारत आदि ज्ञानपरम्परा हाम्रा अमूल्य निधिका रूपमा रहेका छन् । साथै सामाजिक सञ्जालले सिकाएका केही राम्रा पक्षहरू पनि रहेका छन् । पूर्वीय मात्र होइन पाश्चात्य समाजले पनि अराजकताका बारेमा व्याख्या गरेको पाइन्छ र समाधानका निम्ति पर्याप्त अनुसन्धान भएका छन् । हाम्रो हिमवत्खण्डमा विकसित ज्ञानपरम्परा, पश्चिमा समाजका अवधारणा तथा पश्चिमा समाजले निर्धारण गरेका अराजकता न्यूनीकरणका मान्यता सबैलाई मिलाएर हेर्ने हो भने पनि कुशासन हुँदा दुःख बढ्ने र सुशासन हुँदा सुख बढ्ने भन्ने नै मान्यता रहेको पाइन्छ । शासनको अनुपस्थिति नै अराजकता हो । स्वतन्त्रताका नाममा उत्पन्न अराजकताले समाजलाई सत्यानाश गर्दछ । शासनसत्ता सुशासनको धर्मबाट च्यूत हुँदा अराजकता उत्पन्न हुन्छ । जहाँ न्यायपूर्ण समाज हुन्छ त्यहाँ सुशासन हुन्छ । शासनका आदर्श र मर्यादा नाघेपछि मत्स्यन्याय पैदा हुन्छ । निष्ठामाथि आक्रमण गर्ने, सुशासन हराउने र पूर्वीय ज्ञानपरम्परा भत्किने अवस्था वर्तमानमा देखिइरहेको छ !
फिरङ्गीहरू वा अङ्ग्रेजले शासन गरेपछि इन्डियालाई भारत भनिएको र दर्शन, चिन्तनलाई भारतीय भनी जोड्ने गलत परम्पराको थालनी भएको मात्र होइन नेपाल भनेको भारतको शाखा हो भन्ने गलत भाष्य सिर्जना गरिएको हो तर पूर्वीय ज्ञानपरम्पराको थालनी हाम्रो मुलकबाट भएको तथ्यले पुष्टि गरेका छन् । शासनको अभाव भनेको नैतिकताको समाप्ति पनि हो । मानव स्वयम् पशुतुल्य अवस्थामा पुग्ने भएकाले दृढ र न्यायपूर्ण समाजको स्थापनाका माध्यमबाट अराजकता समाप्त गर्नसकिन्छ भन्ने नै पूर्वीय तथा पाश्चात्य मान्यता रहेको पाइन्छ । पश्चिमाहरूले पनि कानुनी शासनको अभाव, आर्थिक सङ्कट, राजनीतिक मतभेद, साम्प्रदायिकता, भ्रष्टाचार, अविश्वास र सूचनाको दुरुपयोगले अराजकताको सिर्जना हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न शक्तिशाली र जबाफदेही सरकार स्थापना गर्ने, गरिबी, अभाव र विभेद हटाउने, राज्यसत्ताले चनाखो भएर कार्यसम्पादन गर्नुपर्नेमा नै जोड दिएका छन् ।
समकालीन नेपालमा अराजकताका कारणहरूमा २०४६ सालमा आन्दोलनका माध्यमबाट प्रजातन्त्रको स्थापना भएपछि दलहरूको अस्वस्थ र अस्वभाविक प्रतिस्पर्धाले, २०५२ पछि विद्रोहले, २०६२÷६३ पछि पनि त्यसका उपलब्धिको रक्षा गर्दै सुशासन दिनुका अलावा अस्वस्थ प्रतिस्पर्धा हुनु, घोषणापत्रका कुरा कागजमै मात्र सीमित हुनु, अपरिमित प्रतिबद्धता जाहेर गरिनु, समाजलाई देखाइएका सपना पूरा नहुनु, अवैध अवैध धन्दाबाट नवधनाड्यवाद मौलाउनु र नवधनाड्यावादले नै राजनीतिमा सोझो एवम् खतरनाक हस्तक्षेप गर्नु, दलाल वर्गको प्रभाव सबैतिर पुग्नु, अधिकारसम्पन्न कानुनको निर्माण गरिएका भए पनि तिनको प्रयोगभन्दा बढी दुरुपयोग हुनु, कर्तव्यप्रति सदैव उदासीन हुनुले पनि अराजकता भित्र्याएको पाइन्छ । अवसरको खोजीमा लिप्त पढेलेखेका कथित सहरिया स्वार्थी वर्ग नै अराजकतामा समर्पित भएर लागेका देखिन्छन् ! राजनीतिक मूल्यका प्रति घृणा, कुण्ठा पोख्ने अनि त्यस्तैका समाचारलाई प्राथमिकता दिने, उछाल्ने राज्यको चौथो अङ्ग सञ्चार माध्यम पनि अराजकता निम्त्याउने वर्गमा परेको देखिन्छ । जनसाधारणको पनि चेतनाको स्तर बढेको नपाइएको र कथित बौद्धिक भनिएकाले पनि गलत सूचनाका आधारमा धारणा बनाउने गरेको पाइएको, आफैँलाई सर्वज्ञ ठान्ने र मैमत्त प्रवृत्ति देखाउने, विश्लेषणको सामथ्र्यको अभावमा ‘रे’मा विश्वास गर्ने, राजनीतिज्ञका बिचमा चिन्तनको अभाव, मुलुक निर्माणमा साझा चिन्तन तथा प्रयत्नको अभाव, नेता होइन नीति ठुला भन्ने आदर्शलाई बिर्सेर गुट ठुलो, परिवारवाद ठुलो मान्ने, कथनी र करणीमा तालमेल नै नहुने आदि आदि कति हो कति कुराले अराजकता पैदा भएको देखिन्छ । यी यावत अराजकताको न्यूनीकरणका लागि सुशासन पहिलो सर्त हो, नागरिकको सचेतना, कुप्रचारको नियमन, हरेकले पालना गर्नुपर्ने कर्तव्यका प्रति सचेत पार्ने र दण्डनीतिमा कडाइ गर्ने कार्यको इमानदार प्रयत्न गरिनु नितान्त आवश्यक छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, डम्बर पहाडी, महेशराज खरेल, डा.मनोज जोशी, सञ्जय सोती, बलराम विष्ट, डा.फणीन्द्रराज निरौला, वासुदेव अधिकारी, प्रशान्त खरेल, कुमार नेपाल, दिल पौडेल, लक्ष्मण तिमिल्सिना, गोपाल नेपाल, लीलाराज दाहाल, नन्दु उप्रेती, डा.कृष्ण सुवेदी, रेणुका भट्टराई, अनिल सिञ्जाली, अर्जुन अन्योल, केशव घिमिरे, मैया लामिछाने, अमला अधिकारी, बाबुराम श्रेष्ठ र विधान आचार्यले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि वरिष्ठ स्रष्टा विधान आचार्यले समीक्षा गर्नुहुँदै विगत चार दशकदेखि साहित्य सन्ध्याले अविश्रान्त यात्रा गरिरहेको छ । यो कार्यशालामा धेरै स्रष्टा उत्पादन भएका छन् । एकपटक सिर्जना सुनेका आधारमा समीक्षा गर्नु गारो र अन्तिममा हुने काम हो । आज नववर्षको उपलक्षमा शुभकामना कविगोष्ठी भएकाले शुभकामनाका कविता आएका छन् । कवितामा आन्दोलन र समाज रूपान्तरणका कुरा जोडिएका छन् । कवि दास होइन भन्ने धारणा कवितामा आएको पाइन्छ । अग्रजको सम्मानका कविता वाचित भएका छन् भने हनुमान नबन्ने चाहना पनि कवितामा अभिव्यक्त भएको पाइन्छ । आमाको महत्ताका, श्रमिकको सम्मानका, आन्दोलनको लक्ष्य के हो भन्ने आशङ्का गरिएका कविता पनि वाचित भएका छन् । मूर्ति होइन मान्छे चाहिएको दृढताका कविता, भाषा विकसित हुँदै जाने कुरा हो भन्ने यथार्थका, नयाँ विम्ब प्रयोग गरिएका कविता वाचित भएका छन् । गजल लेखनमा सक्रिय रहेका स्रष्टाले अशुद्ध काफियाको प्रयोग चाहिँ नगरौँ भन्ने धारणा राख्नुभयो । साथै अहिलेको समाज अराजकतामा जकडिएको, भारतीयहरूले नेपाली संस्कृति भनेको भारतीय छायाँ हो भन्ने भ्रम फैलाएका, उत्तरी हिमालयको दर्शन, सभ्यता, संस्कृति नै नेपाली पहिचान हो । हिमाल भनेको विश्वको पर्यावरणको राजधानी हो भन्ने विद्वानकै मत हो । पूर्वीय दर्शनको यथोचित व्याख्या अहिले पनि आवश्यक भएको पक्षमा स्रष्टाको सचेतता आवश्यक हुन्छ भन्नेसमेतको धारणा राख्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ, सामाजिक रूपान्तरणका लागि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो । हामी स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक छ । त्यसमा पनि समाज विथोल्ने र भिड जम्मा पारेर गलत प्रवृत्तिलाई स्थापित गर्ने अराजक दुश्प्रवृत्तिलाई त तत्कालै आफ्ना सिर्जनाका माध्यमबाट प्रतिवाद नै गर्नु आवश्यक छ । साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने पनि छ । आजको यो विशेष समारोहमा भने प्रा.केशव सुवेदीले मिहिनेतपूर्वक हामीले अहिले भोगिरहेको अराजकताको परिभाषा, पूर्वीय तथा पाश्चात्य मान्यता र समाधानको सर्वस्वीकार्य मान्यताका बारेमा अत्यन्त विशद परिचर्चा गरिदिनुभएको छ । वाचित रचनामाथि वरिष्ठ साहित्यकार विधान आचार्यले मसिनोगरी टिप्पणी गरिदिनुभएको छ । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो, सबै सबै गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply