विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४९औँ शृङ्खला फागुन ५ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘साहित्य र संस्कृतिको अन्तरसम्बन्ध र साहित्यमा प्रविधिको प्रयोग’ विषयमाथि अत्यन्त विशद चर्चासहित कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा अतिथि एवम् विषयप्रस्तोताका रूपमा साहित्यकार विधान आचार्य उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा हेमराज पहारी स्मृति प्रतिष्ठान, पोखराकी अध्यक्ष रीता पहारी न्यौपाने, गायत्रीकुमार चापागाईँ, डा.गोविन्दप्रसाद आचार्य, महेशराज खरेल, डम्बर पहाडी, जयन्ती स्पन्दन, गोपालकुमार मैनाली, ओमप्रसाद कोइराला, असीम सागरलगायतको उपस्थिति रहेको थियो ।
‘साहित्य र संस्कृतिको अन्तरसम्बन्ध तथा साहित्यमा प्रविधिको प्रयोग’ विषयमा पावर प्वाइन्टबाट विशद चर्चा गर्नुहुँदै साहित्यकार विधान आचार्यले चार दशकको अथकित यात्रा तय गरिसकेको साहित्य सन्ध्या प्रशिक्षणशाला हो र यसले उत्पादन गरेका स्रष्टाहरू राष्ट्रियरूपमा चर्चामा हुनुहुन्छ । यो संस्थाले हरेक महिना समसामयिक विषयमा वैचारिक बहस गरिरहेको छ । आज चाहिँ हामी अर्काे गहन विषयमा परिचर्चा गरिरहेका छौँ । साहित्य समाजको उपज हो र यो संस्कृतिको एउटा अंशका रूपमा रहेको हुन्छ । संस्कृति भनेको चाहिँ सामाजको समग्र व्यवहार हो । सामाजिक व्यवहार असल हुँदा संस्कृति बन्ने र खराब हुँदा विकृति हुने भए पनि कतिपय खराब प्रवृत्ति पनि संस्कृतिका रूपमा समाजमा रहेका हुन्छन् । असल विचार तथा भावले रूपान्तरणमा सहयोग पुर्याउँछ । हामीसँग सभ्यताको मेसोपोटामियाँदेखिको इतिहास पनि रहेको छ । विभिन्न धर्मका नाममा विभिन्न विद्वानहरू स्थापित भएका छन् । हिमालयका दुबैतिर नदी छन् र हिमालय सिङ्गो सभ्यता हो भनेर कालिदासले वर्णन गरेका छन् । साहित्य समाजको ऐना हो । अर्थात् जुन भाव वा विचारले व्यक्ति, परिवार, समाज र देशको हित गर्दछ त्यही लेखन नै साहित्य हो । भोलिको दिशानिर्देश नगर्ने साहित्य साहित्य हुनसक्तैन र त्यस्तो साहित्य दीर्घजीवी पनि हुँदैन त्यसैले साहित्य भनेको संसारको परिवर्तनको संवाहक हो ।
प्रविधि भनेको चाहिँ मानवश्रमको सट्टामा सघाउने कुनै पनि उपकरण हो । अहिले भने कम्पुटर सर्वव्यापी बनेको छ । प्रविधिले प्रकाशन बढायो, पत्रपत्रिका प्रकाशित भए, अहिले त सामाजिक सञ्जालको प्रयोग व्यापक बनेको छ । हामीले गरेको मोबाइलको प्रयोगले धेरै कुरा विस्थापित भएका छन् । अहिले कृत्रिम बौद्धिकताको पनि प्रयोग हुनथालेको छ तर यो खतरनाक पनि साबित हुनसक्छ । प्रविधिको प्रयोग अत्यन्त आवश्यक छ तर यसको प्रयोगको सीमा निर्धारण गरिनु पनि त्यत्तिकै आवश्यक छ । प्रविधिको फरक शैलीका माध्यमबाट प्रयोग गर्नसकिन्छ र भइ पनि रहेको छ । अहिलेको अवस्थामा प्रविधिविना समाज, जीवन, साहित्यलेखन केही पनि चल्नसक्तैन । उदाहरणका लागि हामीले हेर्दाहेर्दै पेजर हरायो, पत्रपत्रिकाको अस्तित्व सङ्कटमा पुगिरहेको छ । अब त छपाइका लागि प्लेटनिर्माण पनि आवश्यक छैन भन्ने प्रयोग विदेशमा भइसकेको पाइन्छ भन्नेसमेतका अनेकानेक दृष्टान्त दिनुहुँदै प्रकाश पार्नुभएको थियो ।
समारोहमा ओमप्रसाद कोइराला, कुमार नेपाल, सोइना दाहाल, ऋचा अधिकारी, असीम सागर, लीलाराज दाहाल, भीष्म उप्रेती, नवराज श्रेष्ठ, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी एलाक, महेशराज खरेल, गायत्रीकुमार चापागाईँ, नवराज श्रेष्ठ, निर्भिक राई, डा.मनोज जोशी, रमेश भट्टराई पुजारी, बलराम विष्ट, प्रशान्त खरेल, भानुप्रकाश जोशी, राज रजक, गोपालकुमार मैनाली, रूपक अलङ्कारले आआफ्ना कविता, गीत, गजल, लघुकथा, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै साहित्यकार गीता सापकोटाले चार दशकदेखि अविरल र अविश्रान्त यात्रा गरिरहेको, सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको र जनप्रज्ञाप्रतिष्ठानसरहको योगदान गरिरहेको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा तेइसजना स्रष्टाका सिर्जना वाचित भएका छन् । शास्त्रीय, लोकलय र मुक्तलयका कविता र दुई लघुकथा वाचित भएका छन् र ती सबै विधागत विविधतायुक्त सिर्जना रहेका छन् । कवितामा सशक्तीकरणको चेतना उद्घाटित भएको छ, बेरोजगारीका कारण बिदेसिन बाध्य नेपालीले विदेशमा भोगेका पीडा र कतिपय अवस्थामा बाकसमा लास मात्र स्वदेश आएको मर्मान्त पीडा पनि कवितामा अभिव्यक्त भएको पाइन्छ । आँसु दुःखसुखको साथी हो भन्ने भाव र आँसुमा मातृत्वचेत उजागर गरिएको कविता पनि वाचित भएको छ । नारीचेतना र विद्रोहको भाव कवितामा आएको छ । समाजमा सात किसिमका वर्ग पैदा भएका विकृत सामाजिक यथार्थलाई कवितामा उजागर गरिएको छ । मानिसको प्रवृत्ति नकारात्मक छ तर प्रकृति सकारात्मक भएको भाव कवितामा अभिव्यक्त भएको छ । वसन्तको आगमन स्वीकार गर्दै कर्मयोगको सन्देश दिने कविता पनि सुनिए । वर्गीय भेदले सामाजिक रूपान्तरण नभएको पीडायुक्त आक्रोश तथा लोकको दूरावस्था उजागर कवितामा गरिएको छ । बनमारा मौलाएझैँ भ्रष्टाचार मौलाएको प्रति कडा आक्रोश कवितामा व्यक्त गरिएको छ । अनमेल विवाह तथा समाजमा नारी हेलाँहोचोमा परिरहेको अवस्था सिर्जनामा उजागर गरिएको छ । साहित्यका माध्यमबाट पहिचान बनाउने अपेक्षा कविता बनेर आएको, समाज परिवर्तनको अपेक्षा राखिएका एलाक सुनिएका, समाजमा विद्यमान सामन्ती शोषणजन्य यथार्थ सिर्जनामा उजागर गरिएको, स्वपहिचान तथा आत्मपहिचान खोज्नेपर्ने सन्देश समप्रेषण गरिएका कविता पनि सुनिनुका साथै सामाजिक बेथितिका प्रति कडा प्रहार गरिएका कविता र लुटाहा प्रवृत्तिको त्यस्तै कडा प्रहार गरिएका कविता पनि वाचित भएका छन् । सिर्जनामा सामाजिक रूपान्तरण अभियानको अगुवा वा नेतृत्वकर्ताको खोजी गर्दै गलत राजनीतिक अवस्था र आफ्नै विकासका लागि मात्र काम गर्ने स्वार्थी प्रवृत्तिका प्रति विरोध गरिएका सिर्जनासमेत वाचित भएका छन् । आजका समग्र कविता समसामयिक छन्, प्रतिगमनप्रति आक्रामक छन्, क्रान्तिकारी धार शिथिल हुनुहुन्न भन्ने आग्रहका पनि रहेका छन् । त्यसैगरी सरकारलाई जिम्मेवार बन्न घच्घच्याउने काम पनि सिर्जनाले गरेका हुादा आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । निमन्त्रणा स्वीकारेर उपस्थित हुनुभएका स्रष्टाहरू सबैका प्रति पनि आभार व्यक्त गर्दछौँ । आज सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । हाम्रा सल्लाहकारसमेत रहनुभएका विधान आचार्यले ‘साहित्य र संस्कृतिको अन्तरसम्बन्ध तथा साहित्यमा प्रविधिको प्रयोग’जस्तो विशद एवम् गहन विषयमा सहजढङ्गले प्रविधिका माध्यमबाट गहन तथा व्यापक चर्चा गरिदिनुभएको छ । साहित्य सन्ध्याको अविश्रान्त यात्रामा हामीले सबै सबैबाट पाएको सद्भाव सराहनीय छ, हामी आभार व्यक्त गर्दछौँ । सन्ध्याको ४५० औँ शृङ्खलामा पनि कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
Leave a Reply